समाचार

सुजुकी श्रीमतीको मागः दुई डीएसपीमाथि पनि छानविन होस्

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको अपराध कर्ममा सघाएको आरोपमा पक्राउ परेका युवा संघका नेता सुजु मल्लको परिवारले बुटवलका तत्कालीन दुई डीएसपीमाथि छानविन गर्न माग गरेका छन् ।

मल्लकी श्रीमती सिर्जना ताम्राकारले आइतबार बुटवलमा पत्रकार सम्मेलन अायोजना गरिन् । मनोज पुनले आफ्ना श्रीमान सुजुलाई विगतमा मार्ने धम्की दिने गरेको सिर्जनाले दाबी गरिन् । मनोजले त्यसबेला दिएको धम्कीबारे इलाका प्रहरी कार्यालयका तत्कालीन डीएसपी मुकुन्द मरासिनी र पवनकुमार भट्टराईलाई जानकारी गराएको दावी गर्दै उनले यसबारे छानविन गर्न माग गरिन् । मनोजले फोन गरेर ‘कि पैसा दे, कि ब्यापारीहरूको नम्बर दे’ भन्दै धम्की दिएकाले नम्बर दिएको र त्यसबारे पनि डीएसपीलाई जानकारी गराएको सिर्जनाको दाबी छ । मनोजको इन्काउन्टर हुनु अघिसम्म सुजुको फोन सम्पर्क भएको प्रहरी दाबीमा शंका गर्दै उनले मिति प्रमाणित गर्न माग गरिन् ।

मनोजसँग सुजुको गत तिहारपछि नै सम्पर्क टुटेको सिर्जनाको दाबी छ । सिर्जनाले प्रहरीको अनुसन्धान र छानविनलाई सघाउन आफ्नो परिवार तयार रहेको समेत बताएकी छन् । यसैवीच एमालेले  सुजुको अभियोग अदालतबाट प्रमाणित नहुँदै पार्टीबाट निस्कासन गरेर अन्याय गरेको उनको गुनासो छ । एमालेले विज्ञप्ति जारी गरेर सुजुलार्इ पार्टीबाट निस्कासन गरेको बताएपछि सिर्जनाले यस्तो गुनासो गरेकी हुन् । युवा संघका केन्द्रीय सदस्य रहेका सुजुका विषयमा युवा संघले भने अहिलेसम्म मुख खोलेको छैन ।

प्रहरीले मनोज पुनका विशेष सहयोगी रहेको अभियोगमा युवा संघका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सुजु मल्लसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। मनोज पुन र उनका विशेष सहयोगी सोम आले भने ९ फागुनमा प्रहरीको इन्काउन्टरमा मारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *