राजनीति समाचार

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नहुने

 नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते लेनिन जयन्तीको दिन गर्ने भनिएको पार्टी एकता नहुने भएको छ ।

आज मंगलबार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणका लागि तयारी नपुगेको ठहर गरेको छ ।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘नौ गते गर्ने भनिएको एकतालागि तयारी पुगेन । त्यसैले त्यसदिन एकता घोषणा हुनेछैन ।’

एमाले महासचिव इश्वर पोखरेलले भने, ‘दुई पार्टीको एकता हुनेमा दुई मत छैन । अहिलेलाई तयारी नपुगेकाले ९ गते घोषणा हुँदैन।’

पार्टी एकताको अन्तिम टुङ्गो गर्ने जिम्मा दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई दिने निर्णय आजको बैठकले गरेको छ ।

पार्टी एकता संयोजन समितिको आजको बैठकमा यसअघि गठित राजनीतिक कार्यदल र संगठनात्मक कार्यदलको प्रतिवेदनमाथि गहन छलफल भएको नेताहरुले जानकारी दिए ।

एमाले महासचिव पोखरेलका अनुसार दुवै पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा फरक अभ्यास गरेको र अब पार्टी एकतामा पनि फरक अभ्यास हुने जानकारी दिए । पोखरेलले भने, ‘पार्टी एकतामा यतिउति प्रतिशत भन्नेमा हामी अड्कनेछैनौ।’

2 Replies to “नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नहुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *